A NSW Government website

के हामी मद्दत गर्न सक्छौँ?

उजुरी गर्ने प्रकृया

यस आयोगले सर्वसाधारण नागरिकहरू र सरकारी पदाधिकारीहरूलाई कानुन उल्लङ्घन गरेको हुन सक्ने प्रहरी अधिकारीहरूको उजुरी गर्न प्रोत्साहित गदर्छ। यसमा त्यस्ता प्रहरी अधिकारीहरू पनि समावेश छन् जसले जानाजानी गलत काम गरेका वा कानुन तोडेका हुन् भन्ने शङ्का गरिएको छ।

तपाईं कस्ता कुराहरू उजुरी गर्न सक्नुहुन्छ?

यस आयोगलाई कारबाही गर्ने कानुनी अधिकार तब मात्र छ जब उजुरी कुनै प्रहरी अधिकारी वा अपराध आयोगका अधिकारीको बारेमा हुन्छ जसले जानाजानी गम्भीर र कानून विरुद्धको काम गरेको छ (वा गरिरहेको छ), वा जुन गलत छ।

न्यु साउथ वेल्सको कानूनले यसलाई गम्भीर दुराचार मानेको छ।

गम्भीर दुराचार

गम्भीर दुराचारका केही उदाहरणहरू यस्ता हुन सक्छन्:

  • घूस माग्नु वा लिनु
  • अपराध स्थलमा प्रमाण स्थापित गर्नु वा संकलित प्रमाणसँग छेडछाड गर्नु
  • शारीरिक रूपले हिंसात्मक हुनु
  • अपराधीहरूलाई प्रहरीसम्बन्धी गोप्य जानकारी दिनु
  • अन्य प्रहरी अनुसन्धानहरूमा अनुचित रूपमा हस्तक्षेप गर्नु
  • अपराधीहरू वा पीडितहरूसँग अनुचित सम्बन्ध राख्नु
  • निषेधित लागूपदार्थहरू उत्पादन, खेती वा आपूर्ति गर्नु

अन्याय

तपाईंले त्यस्ता  प्रहरी अधिकारीहरूको व्यवहार र कार्यहरूको बारेमा पनि उजुरी गर्न सक्नुहुन्छ जुन व्यक्तिगत विशेषताहरू साझा गर्ने व्यक्तिहरूको समूहलाई अनुचित हुन सक्छ, जस्तै तिनीहरूको:

  • उमेर
  • (अ)शक्तता
  • पारिवारिक वा हेरचाहकर्ताको जिम्मेवारी
  • लैङ्गिक पहिचान
  • घरबार विहीनता
  • वैवाहिक स्थिति
  • राजनीतिक धारणा
  • जाति वा नस्ल
  • धर्म
  • यौन झुकाव
  • सामाजिक पृष्ठभूमि

कसले उजुरी गर्न सक्छ?

बेनामी/ गुमनाम भएर

तपाईंले गुमनाम रूपमा उजुरी गर्न सक्नुहुन्छ, यद्यपि यसको अर्थ हामीले तपाईंको उजुरीको कुनै पनि पक्षमा छलफल गर्न तपाईंलाई सम्पर्क गर्न सक्दैनौं।

प्रतिनिधिको रूपमा

हामी कानुनी प्रतिनिधिहरू र संसदका सदस्यहरूको सिफारिस स्वागत गर्छौँ, जसले तपाईंको तर्फबाट वा प्रत्यक्ष रूपमा गुनासो पेश गर्न सक्छन्

कानुनी प्रतिनिधिहरूले  कानुनी प्रतिनिधि उजुरी फारम (Legal Representative Complaint Form) भरेर र यसलाई सिधै legalrep.referrals@lecc.nsw.gov.au मा इमेल गरेर पठाउन सक्छन्।

सर्वसाधारण नागरिकहरू

यदि तपाईंले न्यू साउथ वेल्स प्रहरी बल वा न्यू साउथ वेल्स अपराध आयोगसँग सम्बन्धित कुनै व्यक्तिको आचरण देख्नुभएको छ जुन न्यायाधीशले पनि अनुचित व्यवहार ठान्न सक्ने सम्भावना छ भने, त्यसबारे हामीलाई जानकारी दिनुहोस् भनेर हामी सर्वसाधारणलाई प्रोत्साहित गर्छौं।

एनएसडब्लू प्रहरी अधिकारीहरू

यदि तपाईं सेवारत अधिकारी हुनुहुन्छ भने, हामीलाई उजुरी पेश गरेर दुर्व्यवहारको जानकारी गर्ने आफ्नो दायित्व पूरा गर्न सक्नुहुन्छ।

हामी के गर्न सक्छौँ

  • एनएसडब्लू प्रहरी (NSW Police) र एनएसडब्लू अपराध आयोग (NSW Crime Commission) का कर्मचारीहरूसँग सम्बन्धित उजुरीहरू प्राप्त गर्न सक्छौं।
  • एनएसडब्लू प्रहरी (NSW Police), एनएसडब्लू अपराध आयोग (NSW Crime Commission) र अन्य सरकारी निकायहरू भन्दा स्वतन्त्र रूपमा कार्य गर्छौं।
  • यदि तपाईं आफैँले गुनासो लेख्न सक्नुहुन्न वा तपाईंलाई सहयोग गर्न सक्ने कोही छैन भने, हामी तपाईंलाई उजुरी लेख्न सहयोग गर्न सक्छौं।
  • उजुरीलाई एनएसडब्लू प्रहरी (NSW Police) मा सिफारिस गरेर, तिनीहरूले त्यसलाई कसरी हेर्छन् भन्ने विषयमा निगरानी गर्छौँ, ताकि अनुसन्धान ठीक रूपमा गरिएको छ कि छैन भन्ने सुनिश्चित गर्न सकियोस्।
  • एनएसडब्लू प्रहरी (NSW Police) वा एनएसडब्लू अपराध आयोग (NSW Crime Commission) द्वारा तयार पारिएका उजुरी अनुसन्धान प्रतिवेदनहरू समीक्षाको लागि हेर्छौँ, ताकि उजुरी समुचित रूपमा हेरिएको छ कि छैन भन्ने मूल्याङ्कन गर्न सकियोस्।
  • गम्भीर दुराचार वा कुशासनको अनुसन्धान गर्छौं।
  • तपाईंलाई सम्मानका साथ व्यवहार गर्छौँ

हामी के गर्न सक्दैनौं:

  • एनएसडब्लूमा कार्यरत कानून कार्यान्वयन अधिकारीहरूबाहेकका विषयमा गरिएको उजुरी स्वीकृत गर्न सक्दैनौं।
  • प्राप्त प्रत्येक गुनासोको अनुसन्धान गर्न सक्दैनौं। हामी मुख्यतः निरन्तर समस्या वा “गम्भीर दुराचार” को कानुनी परिभाषामा पर्ने आचरणको अनुसन्धान गर्ने गर्दछौं।
  • व्यक्तिहरू वा संस्थाहरूको कानुनी प्रतिनिधित्व गर्न सक्दैनौं।
  • एनएसडब्लू प्रहरी (NSW Police) वा एनएसडब्लू अपराध आयोग (NSW Crime Commission) लाई अदालतले गर्न सक्ने आदेश अनुसार कार्य गर्न निर्देशन दिन सक्दैनौं।
  • कानुनी सल्लाह दिन, अदालत वा एभिओ (AVO) सम्बन्धी मामिलामा हस्तक्षेप गर्न वा एभिओ (AVO) को सर्तहरू परिवर्तन गर्न सक्दैनौं।
  • प्रहरी अधिकारी वा सर्वसाधारणलाई अभियोजन चलाउन सक्दैनौं—यो सार्वजनिक अभियोजन निर्देशनालय (Director of Public Prosecutions) को कार्य हो।
  • अस्पष्ट वा अपर्याप्त जानकारीमा आधारित भएर कार्य गर्न सक्दैनौं।
  • प्रहरीलाई तपाईंसँग माफी माग्न निर्देशन दिन वा तपाईंका लागि क्षतिपूर्ति खोज्न सक्दैनौं।

के तपाईंलाई उजुरी गर्न सहयोग चाहिन्छ?

यदि अङ्ग्रेजी तपाईंको मातृभाषा होइन भने, तपाईंले १३१ ४५० मा अनुवाद तथा दोभाषे सेवा (टिआईएस; TIS) बाट मद्दत प्राप्त गर्न सक्नुहुन्छ।

यदि तपाईं श्रवण विहीन हुनुहुन्छ वा श्रवण वा बोलीमा कमजोरी छ भने, तपाईंले राष्ट्रिय रिले सेवा (एनआरएस; NRS) मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

मैले कसरी उजुरी गर्न सक्छु?

अनलाइन उजुरी फाराम मार्फत

यदि तपाईंसँग अपलोड गर्न तयार प्रमाण सहित सबै चिज उपलब्ध छ भने यो फाराम प्रयोग गर्नुहोस्। https://www.lecc.nsw.gov.au/complaints/make-acomplaint

सजिलो रूपमा पढ्न सकिने उजुरी फारम

यदि तपाईं समय लगाएर आवश्यक सबै विवरणहरू पूरा गर्न चाहनुहुन्छ भने यो फाराम प्रयोग गर्नुहोस्। https://www.lecc.nsw.gov.au/pdf-files/leccaccessibility-complaint-form.pdf/

तपाईंले उजुरी गरेपछि के हुन्छ?

तपाईंले उजुरी गरेपछि, हामी त्यसको समीक्षा गर्नेछौं। यसले हामीलाई उत्तम प्रतिक्रिया दिन मद्दत गर्नेछ।

हामी यी मध्ये कुनै पनि गर्न सक्छौँ:

  • यसलाई एनएसडब्लू प्रहरी (NSW Police) वा एनएसडब्लू अपराध आयोग (NSW Crime Commission) मा पठाउन सक्छौँ
  • एनएसडब्लू प्रहरी (NSW Police) वा एनएसडब्लू अपराध आयोग (NSW Crime Commission) लाई अनुसन्धान गर्न अनुरोध गर्न सक्छौँ, र त्यसपछि तिनीहरूको अन्तिम प्रतिवेदन समीक्षा गर्न सक्छौँ
  • तपाईंलाई थप जानकारीको लागि सोध्न वा थप सोधपुछ गर्न सक्छौँ
  • अनुसन्धान पूरा गर्न सक्छौँ
  • अर्को एजेन्सीमा पठाउन सक्छौँ
  • थप कारबाही नगर्न सक्छौं।